Friday, April 22, 2022

स्थानिय चुनावमा सक्षम प्रतिनिधि

 केन्द्रीकृत राजनीतिक प्रणालीमा जनसहभागिता प्रधान रहन्छ। सहभागितामुलक विकास प्रणाली संघिय संरचनाको मुल मर्म हो। यसै राज्य व्यवस्थामा आधारित रहेर गएको पाँच बर्षमा रघुगंगा गाउँपालिकामा स्थानीय सरकारको अनुभव गर्न पायौं तर जुन अर्थमा स्थानीय सरकार अधिकार सम्पन्न छ त्यस्को न्युनतम भुमिका  निर्वाह गर्न बाट पनि सरकार चुकेको तपाईं हाम्रो सामु छर्लङ्गै छ। विकासका आधारभुत पक्षलाई समेत समेट्न नसक्दा जनताले खेप्नु परेको व्यवधान बाट अहिले हाम्रो  समय गुज्रिरहेको छ।


कुनै पनि स्थानीय तहलाई समयसापेक्ष विकसित बनाउनको लागि एक सक्षम, सवल, अनुशासित, निष्पक्ष र नेतृत्वदायी व्यक्तिको आवश्यकता पर्दछ। स्थानिय सरकार आफैमा अधिकारसम्पन्न हुने हुँदा समृद्धिका आधारहरुको  निर्माण नेतृत्वको कार्यक्षमता र कार्यकुशलतामा अधिकाधिक निर्भर रहन्छ। स्थानिय सरकारको नेतृत्व गर्ने व्यक्तिसँग कम्तिमा :- सांगठनिक एकता, सार्वजनिक गतिविधि संचालन, कर संकलन, बजेट निर्धारण, सार्वजनिक नीति निर्माण, स्थानिय राजमार्ग निर्माण, सामाजिक सेवा, सामुदायिक सुरक्षा, र सामुदायिक न्याय जस्ता आधारभुत कुराहरूमा सहज, सरल र सहि ढङ्गले निर्णय लिन सक्ने क्षमताको जरुरी हुन्छ।  नेपालमा प्रत्येक राजनैतिक दलले जनताको समस्या सँग सम्बन्धित र संघर्षपुर्ण सामाजिक जनजीवन जिइरहेको जसले सोही समस्याको समाधान मा ल्याकत राख्दछ, उसलाई नेतृत्व बाट पन्छाउँदै सम्भ्रान्त र विलासी व्यक्तिहरुलाई उमेदवारको रुपमा छनोट गर्ने प्रचलनलाई अवलम्बन गर्दा खेप्नुपरेको सास्ती को भागिदार आज हामी सबै भएका छौं जसले, आर्थिक, सामाजिक र  वर्गिय रुपमा असमानताको गहिरो खाडल सिर्जना गरिरहेको छ।  अब, सामाजिक कल्याणका लागि र समाजलाई विकृत राजनैतिक जालझेलको लहरा र दुष्चक्रमा फस्न बाट जोगाउनको लागि एक निष्पक्ष र प्रभावशाली स्वतन्त्र उमेदवारलाई नेतृत्वको जिम्मा दिनु हरेक प्रगतिवादी, परिवर्तनकारी र न्यायप्रेमी नागरिकको नैतिक कर्तव्य हुन आउँछ। एक जनमुखी स्थानिय सरकार प्रत्येक घरका प्रत्येक सदस्यहरूको जीवनको गुणस्तरियतालाई सुदृढीकरण गर्दै लैजाने कुरा सँग प्रत्येक्ष सम्बन्धित रहन्छ। सहि र सक्षम नेतृत्व चयनको लागि स्वतन्त्र भएर समाजमा लागि पर्नु ,आजका प्रत्येक चेतनशिल नागरिकको कर्तव्य हो। यसर्थ , निश्चित क्षणिक निजि र सामुहिक स्वार्थमा निहित लालसपुर्ण राजनैतिक परिबन्धको परिधिभित्र मोहरा नबन्नको लागि समस्त विकासप्रेमी र न्यायप्रेमी व्यक्तिहरूलाई हार्दिक आह्वान पनि गर्न चाहन्छौं ।

लोकतन्त्रको अभिमुखिकरण आजको आवश्यकता हो। सरकारको कार्यको रुपमा सुशासनको प्रभावकारीता, र दक्षतामा थप सुधारजन्य अपेक्षाहरु प्राकृतिक रुपमा परिवर्तनशिल रहन्छन। विकासजन्य गतिविधिहरू  संचालनमा हुने सरकार र नागरिक बिचको समानान्तर सहजिकरणले सरकारलाई जनउत्तरदायी बनाउँदै जवाफदेहीता वहनको जिम्मेवारी बोध गराउँछ। जसले दिर्घकालमा राज्यको लोकतान्त्रिक चरित्रलाई स्थायित्व प्रदान गर्दछ । वास्तविक दिर्घकालीन विकासको लागि स्थानीय नागरिकको संलग्नता महत्वपुर्ण रहन्छ। दिगो विकास, आत्मनिर्भरता र सामाजिक न्याय प्राप्तिको मुल आधार स्थानीय सहभागीता हो  । जसले नागरिकलाई सामाजिक सद्भाव, सदाचार र अपनत्व र वात्सल्यताको महशुस  गराउँछ। असमान सेवा वितरण प्रणाली, अनुत्पादकिय प्रविधिको विस्थापनमा समस्या, घट्दो उत्पादकत्व, बजारीकरणको अभाव, पुर्वाधार निर्माणमा कठिनाईं, समाजमा  बढिरहेको स्तरिकरण जस्ता समस्या आजका विकासका प्रमुख चुनौतीहरू हुन ।

सामाजिक न्याय, आर्थिक उन्नती, विकास र कल्याण एवं  उत्पादकत्व वृद्धि र विकासको  प्रक्रियाहरूमा सबै मानिसहरूको बृहत्तर सहभागितालाई प्रोत्साहित गर्न, र उपलब्ध परिमाणको  समानुपातिक वितरण गर्नको लागि
स्थानीय ज्ञान र अनुभवको सम्मान सर्वोपरी रहन्छ। आजको परिणाम भनेको स्थानीय वास्तविकताहरू प्रतिबिम्बित गर्ने हस्तक्षेपहरू हुन्, जसले एक विक्षणिय, समर्थित र दीर्घकालीन  सामाजिक परिवर्तनको नेतृत्व गर्दछ।। जुन नेतृत्वले स्थानीय सरकार र नागरिक बिचको सम्बन्धलाई कारण र प्रभावको असरको रुपमा मात्र होइन अस्तित्व रक्षाको आधारका रुपमा खडा गर्नेछ। यसर्थ राजनैतिक सिन्डिकेट र विकृत राजनीतिको विरुद्ध रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको लागि हाम्रो साझेदारीपूर्ण स्वतन्त्र उम्मेदवारी रहेको छ। न्यायमुलक समाज निर्माण र विकासका परियोजनाहरुलाई प्राथमिकताका आधारमा अल्पकालीन, मध्यकालीन र दिर्घकालीन रुपमा निरन्तर अगाडी लैजानका लागि हामी प्रतिबद्ध छौं

No comments:

Post a Comment

स्थानिय चुनावमा सक्षम प्रतिनिधि

  केन्द्रीकृत राजनीतिक प्रणालीमा जनसहभागिता प्रधान रहन्छ। सहभागितामुलक विकास प्रणाली संघिय संरचनाको मुल मर्म हो। यसै राज्य व्यवस्थामा आधारित...