Saturday, August 1, 2020

युवा पहिचान, सामाजिक ब्यबस्थाले बनाईदिएको सपना !


अनुरोध रिजाल 


व्यग्र प्रतीक्षामा बितिरहेछन दिनहरु, एक सौम्य, शान्त र स्निग्ध समयको लागी। म हरेक बिहान आश्चर्यचकित हुने गर्दछु कि आफ्नो बिछ्यौनामा आफैलाई जिवित पाउँदा। यसको छुट्टै कारण छ तर यस्तो लाग्छ आजकलका निद्राहरु स्वतस्फूर्त भन्दा पनि बाध्यात्मक परिस्थिति बाट झेलिएका हुन्छन। जब आफुभित्र परिपक्वता को जड जोडिदै जान्छ, त्यतिखेर कताकता यो समाज यो राष्ट्रले पहिचान खोजेर जिस्काईरहेको अनुभव हुदोरहेछ ।यहि लज्जास्पद स्थिति बाट जोगिने कवच निर्माणका लागी स्नायु तन्तु र न्युरोनहरु तिब्र गतिमा कुदिरहेका हुन्छन। अब मात्र आवश्यकता विचारहरुको दहिलाई मन्थन गरि निस्किएको मखनरुपि सपनालाई आत्मसात् गर्ने कुराको आउँछ। एक युवा सामाजिक हैसियत बनाउने मृगतृष्णा बोकेर पहिचान निर्माणको युद्धमा होमिन पुग्दछ। जडवादी प्रवृत्तिबाट निबृत्त समाजको कुना कुना लाई सोझ्याउन जिउज्यान लगाएर भौतिक र मानसिक कसरत गर्दै सामाजिक झुन्डहरुमा पाईला राख्नासाथ एककिसिमको सन्नाटापन छाई आफ्ना अभिव्यक्तिहरु अवमूल्यन भएजस्तो महशुस हुन थाल्दछ।
यथार्थत यहाँ शब्दहरू पनि आफैमा अर्थपूर्ण कहाँ हुदोरहेछन र? यिनका अर्थलाई त यिनै ध्वनी उत्पन्न गराउने स्रोत को सामाजिक, राजनैतिक, आर्थिक अर्थात् भौतिक सम्पन्नता को हिसाबले निर्क्यौल गर्दोरहेछ। यहाँ सम्म कि एउटै भावना संवेदना र उत्कर्षताबाट पोखिएका एकै अक्षरहरुको वजन ब्यक्तिपिच्छे भिन्नाभिन्नै हुन पुग्दछ। साचो त टकटके र टपर्टुच्चया स्वभावका मानिसहरुको हाली मुहाली ले हर क्षेत्र प्रदुषित भैरहेको छ यसलाई शुद्धिकरण गर्नका लागि क्लोरिनेसन गर्नु जरुरी छ । तर यो प्रक्रिया व्यक्ति बिरोधी नभई सामाजिक व्यवस्थालाई सुदृढीकरण गर्दै लैजाने किसिमको हुनुपर्छ ।
समयानुकूल परिमार्जित र परिष्कृत सामाजिक व्यवस्थाको लागी स्वच्छन्दतावादी राजनैतिक परिवर्तन चाहिन्छ भन्दा नकार्ने व्यक्ती शायदै कम होला। अ साच्चै राजनीति भन्दा एउटा कुरा याद आयो।शालिन, भद्र, वैचारिक युवा नेताले , आफ्नो सामाजिक ब्यबस्था को कायापलट को प्रतिनिधिमुलक मुख्य पात्र आफैलाई स्थापित गराउंछु झै गरि उग्रवादी सोच लिएर हिडेको एक भाइ सङ्ग भन्दै थिए तिम्रो बिचार मेरो भन्दा पनि उत्कृष्ट छन अब को राज्यसत्ता हाम्रो हात मा हुनुपर्छ यी पुराना पुस्ताप्रती अब नया बैचारिक युद्ध छेड्नुपर्छ मिलेर , आउ हामी गोलबद्ध बनौं चुनावमा मलाई जित्न सहयोग गर। यो वाणी चार हात पर अर्को टेबलमा चिया पिउन बसेको मेरो कानसम्म पर्यो। लेनिन समकालमा मेेन्सेविकहरूको नेतृत्वमा अस्थायी सरकार बनेको कुराको याद मलाई झल्यास्स दिलायो ।फेरि कतै जानिनजानी खु्रश्चोभी कार्यदिशालाई यिनिहरु अंगालिरहेका त छैनन भनेर सोच्न बाध्य नबनाउने त कुरै थिएन किनकि आजको परिवेशमा संशोधनवाद र सुधारवाद बाट प्रगाढित छन, भन्ने वचन 99% उदियमान नेताहरुको चारित्रीक विश्लेषणका लागी मिथ्या हुनेछैन। मलाई कहिलेकाही शंका लाग्छ गान्धिको ऐतिहासिक चरित्र र ऐतिहासिक उपलब्धिहरुमा , के यी दुई मा कुनै परिपक्व मिलान बिन्दु प्राप्त गर्न सकिन्छ त? यतिबेलै याद आउछन हिटलरको द्रव्यपङ्क्ति भनाई “इतिहास झुटहरुको सम्झौता हो”। खैर जे सुकै होस , गान्धीवादी बिचार बोकेर कोहि गान्धी बनोस या नबनोस तर गोड्से बन्न लाई आतुर मानिसहरुको बक्ल्याई बढी नै छ।

यी सामाजिक बिकृती र बिसङ्गती बिच पङ्कज बनेर उभिनु त्यति सहज पनि त कहाँ छ र? तर त्यो भाईलाई लाग्यो होला आहा कति राम्रो राजनैतिक द्रष्टता । हुनपनी स्वभाविक हो भर्खरै को जवानी मष्तिस्कलाई यस्ता कुराहरुले राम्रै पोषण दिन्छन। यतिबेला जुनसुकै बिश्लेषक को कुरा सुने पनि हो जस्तो लाग्ने भान सुरु हुन्छ अनि सङ्गै हुन्छ वैचारिक विचलनको श्री गणेश ।
अन्ततः उसको आधा पाईलाको डोब सङ्गै देखा पर्न थाल्छन सिद्धान्त र ब्यबहारिक राजनिती बिचको मोलाद्विप। उसको राजनितिमा औपचारिक सुरुवात हुन्छ पार्टी मा नम्बरिङ्ग र ट्यागलाईन सहित त्यही पार्टीको उम्मेदवार हुने कुरा पक्का भैसक्यो फलानो फलानोको पछाडी 46 औं नम्बरमा त्यतिबेला उ कुन पोस्टको लागि उम्मेदवारी दिने भन्ने कुराको छनोट अब उस्को आफ्नै वालेट को वजन ले लगाउनेभयो र अबको पेट्रोल र बियर बाड्ने प्रकृयामा उस्ले चाहेसम्म भ्रष्टाचारले आफुलाई अलि बढी राख्न सक्ने हैसियत को बनायो। एक बिचार लाई ढाल बनाएर राजनीति मा होमिन खोजेको व्यक्तिको बाध्यात्मक अवस्थाभित्र प्रवेश भयो र अर्को दोधारपुर्ण कुरा आयो राजनितिको लागि साच्चिकै बिचार उत्पादन गर्नु या आर्थिक सुधार । एक घट्दा अर्को बढ्ने परिक्षण को लागि यो कस्तो वासलात दियो जिन्दगीले?
अब टड्कारो बनेर रहने भयो आर्थिक सबलिकरण को पाटो। उद्धमी बन्नु या ब्यापारी ? दुवैको लागि लगानीको आवाश्यकता पर्न जान्छ तर सुरु गर्नुपर्ने छ जिरो लागतबाट । जन्मदै 36000 को ऋण टाउकामा बोकेर जन्मने नेपालिलाई सानो व्यवसाय सुरु गर्ने 20,000 जुटाउन परिवारको सदस्यको बिश्वास जित्न महाकाव्य रच्नुपर्ने अवस्था आउँछ। त्यतिमात्र कहाँ हो र छोटो समयमै अत्याधिक स्रोत जुटाएर बलियो दावेदारी पनि प्रस्तुत गर्नुछ। सामान्य लगानीमा बस्तु उत्पादन गर्न तिरै अग्रसर हुने हो भने पनि बिश्वब्यापीकरण ,भुमण्डलिकरण ,नवउदारवाद ले निम्त्याएको अन्तर्राष्ट्रिय बजार र आर्थिक उदारीकरण को नीति नेपालका उत्पादित बस्तुहरुका लागि महँगो प्रतियोगिता साबित भैसकेकोछ। यी कुराहरु नेपालका श्रमजीवीहरुको आधार बन्ने कुरा स्वैरकल्पना बाहेक पृथक केही पनि हुनै सक्दैन। बरु कथित विकसित मुलुकहरुले गरेका अन्वेषणात्मक बस्तुस्थितिको नकरात्मक प्रभावको चेपाईमा भने अवश्य नै पर्नेछ।
फेरि नत अब कुनै देश विकसित कहल्याउन लायक नै रहे । यी त मात्र आन्तरिक झैझगडा र होडबाजीमा रुमलिने लाचारी बनेका छन। अब को विकसित मुलुक त वैश्विक एकतालाई कायम गर्दै आन्तरिक भाइचारा जोगाएर नयाँ संसारबाट हुन सक्ने संकटजन्य गतिविधिको बाधक बन्न सक्नुपर्छ । र यस स्थान मा मेरो देश पुर्याउन गहिरो निद्रामा पुग्नैपर्ने हुन्छ। यति मात्र कहाँ हो र ब्यक्ति आफ्नो पहिचानको लागि मानवजिवनको सबैभन्दा बलियो भावनात्मक पक्ष माया सङ्ग पनि जोडिन पुग्छ। कैयौं व्यक्तिहरु आफ्नो पहिचानका पदचापहरुलाई प्रेमिल दिनका प्रतिकका रुपमा छाडेर गएका छन। प्रेमले कडा भावनात्मक र मानसिक सकारात्मक दायरालाई समेट्छ। जस्तो कि सबैभन्दा उदात्त बाट सबैभन्दा राम्रो बानी, पारस्परिक स्नेह र सरलतामा खुशिको खोज गर्न प्रेमले जोड दिन्छ। पारस्परिक प्रेम भनेको मानव बीचको प्रेम हो। यो कुनै एक व्यक्तिको लागी साधारण रुचि भन्दा धेरै शक्तिशाली भावना हो। अप्रत्याशित प्रेमले प्रेमका ती भावनाहरुलाई बुझाउदछ जुन प्रतिफल प्राप्त हुदैन। तर उल्लेखित अनुप्रासहरुलाई पिजडा मा कैद गर्दै आधुनिक प्रेम काम, लोभ र मोहको तलाउमा तैरिरहेको पाईन्छ।
अझ आजको समयमा त स्नेह ममता र अपनत्व 50% भन्दा बढी प्राप्त गर्नका लागि त फेसबुक को फेक कलर एप प्रयोग गर्नैपर्ने आवश्यकता ठहर्न आउँछ।उसो त नेपोलियनको लागि जोसेफिनको जस्तै भुमिकामा आफ्नो प्रीयतम आउने त होइन भन्ने कुरा ले लगातार हानिरहन्छ। अन्ततोगत्वा विश्वमा सेक्स्पियर, रविन्द्रनाथ जस्ता व्यक्ती मेरै जिवनी सम्बोधन गर्नका लागि जन्मिएका रहेछन भन्ने भान पनि नपरिरहन कहाँ सक्छ र? हुन त सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने राजनैतिक बिचार बोकेर ब्यबहारिक पाटोबाट स्खलन हुनुभन्दा कामवासना मा लिप्त भै उत्तेजना स्खलन गरि सृष्टिको चक्रलाई निरन्तरता दिनु सायद जायज हुन आउँछ । के थाहा कतै शताब्दीमा जन्मने मार्क्स र ग्वेभारा पालो कुरेर बसिरहेका पो छन कि ? तर एउटा कुरा निश्चित छ अब को मार्क्स ले पुंजी को नयाँ भागमा कामवासनात्मक पुजिवाद राख्ने छन। जसले आज बिस्वको मोहडा नै परिवर्तन गरिराखेको छ।
तर यी सब पहिचानका सम्भावना मन्थन का लागी मात्रै आउने निर्देशाङ्क बनिदिन्छन सामजिक परिवेश र ब्यबस्थाको कारणले । उसो त साथिभाईहरु सङ्ग परिवर्तनको अभिलाषा बोकि स्वर्गीय समयको अनुभुत गराउने दिनहरु वरदान पाउने आशामा कैयौं देवताको मुर्ति दशौं दिन लगाएर नकुदिएको त कहाँ हुन्छ र? तर पारिवारिक जमघट, उत्तरदायित्व र जिम्मेवारी वहनको कुराले पलभरमै ती कुरा बालुवा मा पानी छर्केसरी गराई नैतिकता को अंकुश लगाएर या त निलो पासपोर्ट को मालिक बनाईदिन्छ या त आफ्नै बिचारले घृणित ठहरिएको जागिरको गधा।
अन्तत शून्य बाट सुरु भएको सामाजिक पहिचान, पद प्रतिष्ठा र हैसियत बनाउने अभियान शुन्यमै गएर अन्त्य हुन्छन् ।बाकी रहन्छ बस् एक निद जस्लाई सपनामा सपनै देखि सपना पूरा गर्ने बाध्यात्मकारी अवस्थाबाट गुजार्नुपर्ने आवाश्यकता आउँछ। अब तपाईं आफै भन्नुहोस यो भयाक्रान्त सपनाको भुमरीमा परेर पनि हरेक बिहान आफुलाई सकुशल पाउँदा लाग्दैन त आश्चर्य?

No comments:

Post a Comment

स्थानिय चुनावमा सक्षम प्रतिनिधि

  केन्द्रीकृत राजनीतिक प्रणालीमा जनसहभागिता प्रधान रहन्छ। सहभागितामुलक विकास प्रणाली संघिय संरचनाको मुल मर्म हो। यसै राज्य व्यवस्थामा आधारित...